ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनमा चार जनाको मृत्यु

January 7, 20217:11 am

काठमाडौं– अमेरिकाको राजधानी वासिङ्टन डीसीमा भएको राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकहरुको हिंसात्मक प्रदर्शनमा चार जनाको मृत्यु भएको छ। वासिङ्टन प्रहरीले यसको पुष्टि गरेको छ।

प्रहरीका अनुसार मृत्यु हुने चारमध्ये एक जना महिला रहेकी छन्। ती महिलाको मृत्यु प्रहरीले चलाएको गोली लागेर भएको हो। अन्य तीन जनाको मृत्यु भने ‘मेडिकल इमर्जेन्सी’का कारण भएको स्थानीय प्रहरीले जनाएको छ।

वासिङ्टन प्रहरीले अहिलेसम्म हिंसात्मक प्रदर्शन गर्ने ५२ जनालाई पक्राउ गरेको छ। जसमध्ये ४७ जनालाई कर्फ्यू तोडेको आरोपमा पक्राउ गरिएको हो।

हिंसात्मक प्रदर्शनको क्रममा मारिएकी महिलाको पहिचान खुलेको स्थानीय प्रहरीले जनाएको छ। उनी सान डियागोमा बस्ने एश्ली बैबिट रहेको प्रहरीले बताएको छ। अमेरिकी मिडियाका अनुसार एश्लीले अमेरिकी हवाई सेनामा काम गरिसकेकी छन्।

रिपोर्टअनुसार अमेरिकी संसद् भवन (क्यापिटल बिल्डिङ)मा प्रवेश गर्न लागेको बेला एश्लीलाई गोली लागेको हो। उनी अन्य प्रदर्शनकारीसँगै उक्त भवनमा प्रवेश गर्न लागेकी थिइन्। उनी ट्रम्प समर्थक रहेको अमेरिकी टेलिभिजन फक्स न्यूजले जनाएको छ।

गोली लागेपछि एश्लीलाई अस्पताल लैजाने प्रयास भएको थियो। उनको अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको थियो।

बुधबार अमेरिकी संसद्‍भित्र राष्ट्रपति निर्वाचनको अन्तिम टुङ्‍गाे लगाउन गम्भीर छलफल चलिरहेका बेला राष्ट्रपति ट्रम्प समर्थक हिंसात्मक प्रदर्शन गर्दै भवनभित्र प्रवेश गरेका थिए।