आधा बाटो नपुग्दै उपलब्धिमा सुधार, नौ खेलमा ३९ स्वर्ण

December 6, 201910:31 am

काठमाडाैं –  दुई दशकपछि जन्मभूमि फर्किएको दक्षिण एसियाली खेलकुद (साग) सुरु भएको ६ दिनमात्र भएको छ। अझै चार दिनका खेल बाँकी छन्।

त्यसैले सागको समग्र समीक्षा गरिहाल्नु हतार हुनसक्छ। तर, क्षेत्रीय खेलकुदको सबैभन्दा ठूलो मेलाका १० दिनमध्ये आधाभन्दा बढी बाटो कटिसकेको अवस्थामा यहाँसम्मको यात्राले बाँकी बाटोको पनि प्रक्षेपण गरिसकेको छ।

बिहानीले पूरा दिनको संकेत गर्छ भनेजस्तै अहिलेसम्मको साग हेर्ने हो भने व्यवस्थापनमा तमाम कठिनाइ भए पनि नेपालले जितेका पदक उत्साहजनक छन्। सागको इतिहासमा नेपालले अहिलेसम्म एकै संस्करणमा ३१ स्वर्ण पदक जितेको आठौं साफ (काठमाडौं) सबैभन्दा ठूलो उपलब्धि थियो। यसपाली आधा बाटो नपुग्दै त्यो उपलब्धिमा सुधार भइसकेको छ। अर्थात् नेपालले पदक तालिकामा ३९ स्वर्ण पदक जितिसकेको छ।

यो संख्या अझै बढ्ने क्रममा छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य-सचिव एवं १३ औं साग आयोजक समितिका सदस्य-सचिव रमेशकुमार सिलवालले घोषणा गरेको ५० स्वर्ण पदक जित्ने लक्ष्य पूरा होलाजस्तो संकेत देखिएको छ।

सन् १९९९ मा नेपालले पछिल्लोपटक घरमै आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (तत्कालीन साफ) आयोजना गर्दा ३१ स्वर्ण पदकका साथ दोस्रो स्थान हासिल गरेको थियो। यसपाली त्यो संख्यामा सुधार गरिरहँदा आलोचकले त्यतिबेलाको दाँजोमा अहिले खेल संख्या पनि थपिएको तर्क गर्ने गरेका छन्। तर, अहिलेसम्म स्वर्ण पदक जितेका खेलको नाम सम्झिने हो भने आलोचकको तर्कमा दम देखिन्न।

आठौं साफमा नेपालले ३१ स्वर्ण पदक चार खेलबाट जितेको थियो। यसपाली ९ फरक खेलबाट नेपालले ३९ स्वर्ण पदक जितिसकेको छ। राष्ट्रिय टिम तयारी क्रममा परामर्शदाताका रूपमा कार्यरत एथलेटिक्सका वरिष्ठ प्रशिक्षक सुशीलनरसिंह राणा समग्रमा यसपालीको साग नेपालका लागि ऐतिहासिक भएको बताउँछन्।

‘अहिलेसममको इतिहास हेर्दा हामीले विगतमा जित्न नसकेका खेलमा पनि पदक ल्याएका छौं। पौडीमा नेपालले कहिल्यै पदक जित्न सक्दैन भन्ने थियो। एथलेटिक्सको पनि लामो दूरीमा म्याराथनबाहेक अरु स्पर्धा नेपालीका लागि होइन भन्ने थियो। तर, पौडीमा गौरिका सिंह र डियोना लामाले पदक जितेका छन्। एथलेटिक्समा सन्तोषी श्रेष्ठ र गोपीचन्द पार्कीले स्वर्ण पदक जिते,’ राणाले नेपालन्युजसँग भने, ‘भारोत्तोलनमा पनि सञ्जु चौधरीले स्वर्ण पदक जितेकी छिन्। खेलसंख्या धेरै भएर धेरै पदक जितेको भन्ने तर्कमा दम छैन किनकि हामीले धेरै स्वर्ण पदक पुरानै इभेन्ट्समा जितेका छौं। नयाँमा जितेको भनेको साइक्लिङमा मात्र हो।’

छैटौं दिनको खेल चलिरहँदा अहिलेसम्म कराते र साइक्लिङ सबैभन्दा सफल खेलका रूपमा उभिएका छन्। करातेले कूल १९ मध्ये १० वटामा स्वर्ण पदक जित्दा साइक्लिङमा पनि भएका ६ इभेन्ट्समध्ये चार स्वर्ण पदक नेपालले जितेको छ। पदक संख्याको दृष्टिमा सबैभन्दा बढी १२ स्वर्ण जितेको तेक्वान्दोमा २९ इभेन्ट्स समावेश छन्। उसुमा पाँच स्वर्ण जितेको नेपालका लागि साइक्लिङले चार, ट्रायथलन र एथलेटिक्स र गल्फले समान दुई तथा पौडी, भारोत्तोलनले एक स्वर्ण पदक जितेको छ।

कराते, तेक्वान्दो र उसुजस्ता मार्सल आर्टस्का विधामा नेपाल पहिल्यैदेखि बलियो मानिन्थ्यो। अपेक्षाअनुसार ती विधामा नेपालको प्रदर्शन सन्तोषजनक भइरहेको छ। अझ तेक्वान्दोको पुम्से यसपालि मात्र थप गरिएको नयाँ विधा हो। जसमा नेपाल अन्य प्रतिस्पर्धीको तुलनामा अभ्यस्त भएकाले बढी पदक जितेको तर्कमा दम छ। यसैगरी उसु र तेक्वान्दोका कतिपय स्पर्धामा पदक सम्भावना बलियो बनाउन आयोजकका नाताले अन्य देशको सहभागिता पक्का गराइएको पनि साँचो हो।

तर, नेपाली खेलकुदमा थिंक ट्यांकको परिचय स्थापित गरेका वरिष्ठ विश्लेषक एवं प्रशिक्षक राणाले भनेजस्तै एथलेटिक्स, पौडी र भारोत्तोलनका पदकको वजन विशेष छन्। खासगरी नेपाली खेलकुदलाई लामो समयसम्म प्रेरणा दिन, हामी पनि सक्छौं भन्ने भावना विकास गराउन यी खेलका पदकले ठूलो भूमिका निर्वाह गर्छन। यसैगरी महिला भलिबलमा फाइनलसम्म पुग्नु र भारतविरुद्धको उपाधि भिडन्तलाई पाँचौं सेटसम्म पुर्‍याउन सक्नुलाई चानचुने उपलब्धि मान्न सकिन्नँ। राष्ट्रिय खेलमा चेलीहरुको प्रदर्शन र प्रतिबद्धता स्वर्णको हकदार भए पनि प्राविधिक रुपमा रजतमा खुम्चिएको थियो। यस अर्थमा अहिलेसम्मको सागलाई सफल मान्नुपर्छ।

नेपाल कराते महासंघका अध्यक्ष पुरेन्द्रविक्रम लाखे पनि सागलाई भव्य सफलताको ट्याग भिराउन कञ्जुस्याइँ गर्नु नपर्ने तर्क राख्छन्।

‘आजको मितिसम्म भन्नुपर्दा यो साग गज्जब सफल रूपमा चलिरहेको छ। खेल जुन ढंगले हुनुपर्ने हो, त्यही भावनाअनुसार भइरहेको छ,’ लाखेले भने, ‘सबै खेल अत्यन्तै व्यवस्थित र मर्यादित ढंगले भइरहेको छ। पदकको दृष्टिले पनि अहिलेसम्मको सबभन्दा सफल रुपमा दर्ता भइसकेको छ। खेलस्तर समग्रमा उकासिएको छ। खेलस्तर नउकासिएको भए यत्तिका पदक सम्भव हुदैनथे। यसमा खेलाडी, प्रशिक्षक र खेल प्रशासन सबैको मेहनतको भूमिका छ।’

लाखेले खेल आयोजनाको व्यवस्थापन अत्यन्तै चुस्त र व्यवस्थित भएको दाबी गरिरहे पनि ट्रायथलनका खेलाडीले पोशाक अन्य देशका प्रतिस्पर्धीसँग मागेर लगाउनुपर्ने, सुटिङमा गोलीमै विपक्षीको भर पर्नुपरेकाजस्ता घटनाले उनको दाबीलाई हावादारी सावित गरिसकेका छन्। प्रत्येक टिमका खेलाडी, खेलकर्मी र निर्णायकले समेत यातायात व्यवस्थापनमा गरेका गुनासालाई पनि लाखेको भनाइले नजरअन्दाज गर्छ।

भनिन्छ, ‘एउटा जितले हजारौं कमजोरी ढाकछोप गर्छ र, एउटा हारले लाखौं प्रश्न उब्जाउँछ।’ नेपाली खेलकुद प्रशासन र १३औं साग आयोजनाको पक्षमा पनि अहिले यही भनाइ सार्थक भएको छ। तीन दर्जनभन्दा बढी स्वर्ण पदकमाथिको जितले टिम तयारी दौरानमा भएका हजारौं कमजोरीमाथि ढाकछोप गरेको छ। यसैगरी समयमै उद्घाटन हुनु र छिटफुटबाहेक सतहमा आउने गरी कुनै समस्या बिनाछैटौं दिनसम्मको खेल चल्नुले व्यवस्थापनका अरु हजारौं कमजोरी छोपिएका छन्।

उदघाटनभन्दा केही दिनअघिसम्म पनि साग होला कि नहोला भन्ने अन्योलका बीच सुरु भएको क्षेत्रीय खेलकुदको सबैभन्दा ठूलो मेलाले देशको इज्जत र प्रतिष्ठा अन्तर्राष्ट्रिय जगतमा पुर्‍याउनुपर्ने उद्देश्य पूरा गर्ला कि नगर्ला, एक महिनापछि हुन लागेको नेपाल भ्रमण वर्षका लागि यो साग आयोजनाले सहयोग पुर्‍याउला कि नपुर्‍याउला, अलकत्रा छर्दै खेलाडी भित्रयाउँदै गरिएका दृश्यले विदेशी खेलाडीमा कस्तो प्रभाव पर्ला, रंग लगाउँदै प्रतियोगिता गर्दै गरिएका दृश्यले कस्तो सन्देश प्रवाह गर्ला, सागका लागि भन्दै रातारात बनाइएका पूर्वाधार कत्तिको टिकाउ होलान्, साग दौरानमा देशलाई कतिको खेलकुदमय बनाउन सकियोजस्ता तमाम प्रश्नको उत्तर त विस्तारै खोजिँदै जानेछन्।

साभार : अजय फुयाल नेपाल न्युज