निर्वाचनका लागि सवारी साधन किन्न गृहले अर्थसँग माग्यो ९ अर्ब

January 22, 20213:19 am

काठमाडौं– निर्वाचनमा तीन वटा सुरक्षा निकायलाई चाहिने सवारी साधन किन्न भन्दै गृहले अर्थसँग बजेट माग गरेको छ । गृहले निर्वाचनमा प्रयोग हुने एक हजार छ सय वटा सवारीको व्यवस्था गर्न भन्दै अर्थसँग बजेट मागेको हो ।

गृहमन्त्रालयका एक अधिकारीले अनुसार निर्वाचनमा प्रयोग हुने सवारीको व्यवस्था गर्न उक्त रकम मागिएको हो । उनले वैशाखमा हुने प्रतिनिधि सभाका लागि सुरक्षा निकायले प्रयोग गर्ने सवारी किन्नलाई उक्त रकम मागेको जानकारी दिए ।

गृहमन्त्रालयका अनुसार नेपाल प्रहरीले निर्वाचनलाई भनेर एक हजार एक सय वटा गाडी मागेको छ । यस्तै, सशस्त्र प्रहरी बलले पाँच सय वटा गाडी गृहसँग मागिसकेको बताइएको छ । त्यहीअनुसार गाडी खरिदका लागि अर्थ मन्त्रालयमा प्रस्ताब गरिसकेको गृह सचिव महेश्वर न्यौपानेले जानकारी गराएका छन् ।

यसैगरी, राष्ट्रिय अनुसन्धान विभागले समेत गृहसँग निर्वाचनकै लागि भनेर सवारी माग गरिसकेको छ । सुरक्षा निकायले मागेको गाडीको व्यवस्था गर्न भन्दै गृहले अर्थसँग प्रारम्भिक बजेटको माग गरेको हो ।

यसबाहेक पनि नेपाली सेनाले निर्वाचन प्रयोजनका लागि नयाँ गाडी किन्न छुट्टै प्रस्ताव गरेको अर्थ मन्त्रालयका एक अधिकारीले देखापढीलाई जानकारी गराए ।

“सेनाले पनि गाडी, सञ्चार सेटलगायतका सामाग्रीका लागि माग गरेर प्रस्ताव पठाएको छ,” उनले सेनाको प्रस्तावबारे भने थप जानकारी गराएनन् ।