नायब सुब्बामा जागिर खुल्यो

January 13, 20215:19 am

काठमाडौं–लोक सेवा आयोगले ठूलो संख्यामा नायब सुब्बा (नासु) पदका लागि विज्ञापन खुलाएको छ। खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना गरी ८४३ जना सुब्बाका लागि विज्ञापन खुला गरिएको हो।

आयागले काठमाडौँ कार्यालयबाट खुलामा १५०, ज्येष्ठताबाट ९८ र कार्यक्षमताबाट ४८ गरी जम्मा २९६ जनाका लागि विज्ञापन खुलाइएको जनाएको छ।

यस्तै बुटवल कार्यालयबाट खुल्लामार्फत् ५३ जना , ज्येष्ठताको आधारमा ३७ र कार्यक्षमताको आधारमा २२ जनालाई बढुवा गरी पदपूर्ति गरिने छ भने सुर्खेत कार्यालयबाट खुल्लामा २३, ज्येष्ठताको आधारमा १९ र कार्यक्षमताको आधारमा १० गरी कूल ५२ जना नासुको पदपूर्ति हुने छ।

यसैगरी धनकुटा कार्यालयबाट खुलामा ४७, ज्येष्ठताको आधारमा ३१ र कार्यक्षमताको आधारमा १८ गरी ९६ जना, जलेश्वर कार्यालयबाट खुलाबाट ४९, ज्येष्ठताको आधारमा ४९ र कार्यक्षमताको आधारमा २३ जना गरी कूल १२१ जना र पोखरा कार्यालयबाट खुल्लाबाट ५२, ज्येष्ठताको आधारमा ३५ र कार्यक्षमताको आधारमा १७ जनाको पदपूर्ति हुने लोक सेवा आयोगले प्रकाशित गरेको सुचनामा उल्लेख छ।

यसैगरी दिपायल कार्यालयबाट खुल्लामा ३७ जनाको विज्ञापन खुला गरिएको छ। यस कार्यालयबाट ज्येष्ठताको आधारमा १६ र कार्यक्षमता मूल्यांकनबाट ९ जनाको बढुवा गरी पदपूर्ति गरिने लोक सेवा आयोगले जनाएको छ।

परीक्षा मिति पछि प्रकाशन हुने र परीक्षा केन्द्र केन्द्रीय कार्यालय बाहेक आयोगका सबै कार्यालयहरुमा तोकिने आयोगले जनाएको छ।

साथै लोक सेवा आयोग, जलेश्वर कार्यालयबाट विज्ञापन हुने पदको परीक्षा केन्द्र सिराहाकाे लाहान र पर्साको वीरगञ्जमा तथा लोक सेवा आयोग, सुर्खेत कार्यालयबाट विज्ञापन हुने पदको परीक्षा केन्द्र डोल्पा र हुम्ला जिल्लाको सदरमुकाममा समेत कायम गरी परीक्षा संचालन गरिने छ।

दरखास्त दिने अन्तिम मिति माघ २० सम्म तोकिएको छ। दोब्बर दस्तुर तिरेर माघ २७ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ।