
काठमाडौं– राष्ट्रिय फुटबल टिमका सदस्य विक्रम लामा र विमल घर्तीमगरको उपचार कतारमा हुने भएको छ।
दुई वर्षअघि बुढासुब्बा गोल्डकप प्रतियोगिताका क्रममा थ्रीस्टारका कप्तान विक्रम लामालाई गम्भीर चोट लागेको थियो। दायाँ खुट्टामा लागेको चोटपछि विक्रम करिब एक वर्ष नै मैदान बाहिर रहे। त्यसपछि उनले २०७५ सालको सहिद स्मारक ए डिभिजन लिगबाट पुनरागमन गरे। पुनरागमन गर्दै लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि विक्रम राष्ट्रिय टिममा परिहाले। त्यसपछि निरन्तर राष्ट्रिय टिममा रहेका विक्रम बंगलादेशसँग केही दिनअघि भएको दुई खेलको मैत्रीपूर्ण खेलको क्रममा चोट भाेग्न बाध्य भएका थिए। विक्रमको पुरानै चोट बल्झिएको थियो। विश्वकपअन्तर्गत दोस्रो चरणका खेलहरुका लागि मध्यनजर गर्दै एन्फाले बोलाएको प्रारम्भिक चरणमा विक्रम परेका थिएनन्।
विमल भने ‘डिस्को काण्ड’ देखि राष्ट्रिय टिम बाहिर थिए। विश्वकपको दोस्रो चरणअन्तर्गत कुबेतविरुद्धको खेल खेल्न भुटान जानुअघि विमलसहित अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशी कारबाहीमा परेका थिए। कारबाहीपछि विमल राष्ट्रिय टिम बाहिर रहँदै आएका थिए। विश्वकपको दोस्रो चरणअन्तर्गत नेपालले खेल्ने बाँकी खेलका लागि मध्यनजर गर्दै एन्फाले प्रारम्भिक चरणमा ५८ जना खेलाडी बोलाउँदा विमल पनि परेका थिए। तर अभ्यासकै क्रममा विमललाई गम्भीर चोट लाग्न पुग्यो। एन्फाका अनुसार करिब एक वर्ष विमल मैदान बाहिर रहने छन्।