काठमाडाैं उपत्यकामा थप एक साता निषेधाज्ञा

August 26, 20206:47 am

काठमाडाैं –  काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
अब, काठमाडौं उपत्यकामा भदौ १७ सम्म अत्यावश्यक बाहेकका सेवा तथा व्यवसाय ठप्प हुनेछन्।

भदौ ३ को मध्यरातदेखि जारी निषेधाज्ञा बुधवार मध्यराति सकिँदै छ । निषेधाज्ञाको समयावधि एकसाता लम्ब्याउने निर्णय गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

कोरोना संक्रमितको दर दैनिक बढिरहेको भन्दै मंगलबार काठमाडौंका मेयरहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई निषेधाज्ञा लम्ब्याउन सुझाव दिएका थिए ।

संक्रामक रोग ऐन–०२० को दफा २ र स्थानीय प्रशासन ऐन–०२८ को दफा ६ (३) अनुसार जिल्ला सुरक्षा समितीको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्ने अधिकार छ ।

थप गरिएको निषेधाज्ञा अवधिमा आईसोलेशन सेन्टर बढाउने, कन्ट्याक्ट ट्रेसिङ र टेष्टको दायरा बढाउने स्थानीय प्रशासनले निर्णय गरेको छ ।
एक साता लामो निषेधाज्ञापछि उपत्यकामा कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’ भएको उपत्यकाका तीन प्रजिअको निष्कर्ष छ ।

‘एक हप्ताको निषेधाज्ञाको कारण कोरोना संक्रमणको चेन ब्रेक भएको समीक्षा गरेका छौं’ काठमाडौंका प्रजिअ जनकराज दाहालले  भने, ‘उपत्यकामा मोविलिटी ठप्प भएको छ, चेन ब्रेक भएपछि आधारभूत रुपमा संक्रमणको दर घट्ने विश्वास छ ।’

आवागमन बन्द गरेपछि भीडभाड कम भएको र त्यसबाट उपत्यकामा संक्रमणको दर घटेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी पाण्डेले बताइन् ।