विद्यार्थीलाई एक मिटर दूरीमा राख्न चीनको यस्तो नयाँ रणनीति…

April 27, 202010:28 am

एजेन्सी- कोरोना भाइरसको संक्रमणबाट मुक्त हुने क्रममा रहेको चीनको शाङ्घाइ र बेइजिङ्गका केही विद्यालयहरुमा नियमित पठनपाठन सुरु हुन थालेको छ। सोमबारदेखि केही विद्यालयमा विद्यार्थी जान थालेका छन्।

हप्तौँको लकडाउनपछि विद्यार्थीहरु पहिलोपटक विद्यालय फर्किएका हुन् । शाङ्घाइमा मिडल तथा हाइस्कूलको अन्तिम वर्षका विद्यार्थीहरु स्कूल आउन थालेका हुन् । बेइजिङ्गमा भने हाइस्कूलका सिनियरहरु मात्रै विद्यालय फर्किएका हुन्।

चीनका अधिकांश क्षेत्रमा कोरोना भाइरसको महामारी सुरु भएसँगै बन्द भएका थिए र अनलाइन मार्फत नै कक्षा हुने गरेका थिए । गएको महिनादेखि मात्रै केही विद्यालयमा अध्ययन सुरु भएको थियो।

सोमबारदेखि थप विद्यालय नियमित कक्षामा फर्किएका हुन् । तर विद्यार्थीहरुको पोशाक भने नियमित जस्तो छैन । हरेक विद्यार्थीलाई मास्क अनिवार्य गरिएको छ भने एक मिटरको दूरी कायम गराउनका लागि विशेष प्रकारको टोपी पनि लगाइदिएको छ।