सिईडिबि हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

May 4, 20214:29 am

काठमाडाैं-  सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने मंगलबार (आज) अन्तिम दिन रहेको छ ।

कम्पनीले बैशाख १७ गत शुक्रबारदेखि देखि सर्वसाधारणमा २५ करोड रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) को बिक्री खुला गरेको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

निष्काशित शेयरमध्ये १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई र ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता शेयर सर्वसाधारणमा बिक्री खुला गरिएको छ ।

आईपीओमा मेरो शेयरको मोबाइल एप, मेरो शेयर सफ्टवेयर (वेवसाइट) र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेन दिन सकिन्छ ।

कम्पनीले जारी गरेका शेयरमा बैशाख २१ गते कार्यालय समयसम्म मात्र आवेदन दिन पाइनेछ । शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २५ लाख १८ हजार २३० कित्ता शेयर खरिदका लागि आवेदन दिन पाइने व्यवस्था रहेको छ ।

आइपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ पुग्नेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ कति भर्ने ?

पछिल्लो समय हरेक सार्वजनिक निष्काशनमा उच्च आवेदन पर्ने गरेको छ । निष्काशित शेयर कम हुँदा गोलाप्रथाबाट सीमित आवेदकले मात्र शेयर पाउने गरेका छन् । त्यसले यस सार्वजनिक निष्काशनमा पनि एक हजार रुपैयाँको आवेदन गर्नु नै उचित हुन्छ ।

कम्पनीको आइपीओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम बाँडफाँड गर्दा २ लाख ३४ हजार १९५ जना आवेदकले शेयर पाउनेछन् ।

आईपीओमा सोमबारसम्म १५ लाख ३०० जनाले आवेदन गरिसकेका छन् । जसबाट २ अर्ब ३० करोड ७३ लाख २३ हजार ६०० रुपैयाँ बराबरको २ करोड ३० लाख ७३ हजार २३६ कित्ता शेयर माग आवेदन परेको छ । यो सर्वसाधारणबाट माग भएको कित्ताको तुलनामा ९.८५ गुणा बढी परिमाणको शेयर माग भएको हो ।

कम्पनीले कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर २३ लाख ४१ हजार ९५४ कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।