जब एउटै प्रतियाेगीतामा २ जना प्रथम भए…

December 6, 20198:50 am

काठमाडाैं –  यो २०२९ सालतिरको कुरा हो। त्यति बेला म आमश्रोताहरूले चिन्ने गरी गायक भइसकेको थिइनँ।

काठमाडौंमा एउटा गायन प्रतिस्पर्धा गरिएको थियो। मैले ‘लौ सुन म भन्छु मेरो राम कहानी’ गाएको थिएँ। त्यो नारायण गोपालको गीत थियो। गोपाल योञ्जनको शब्द र संगीत समेटिएको।

त्यो गीत गाएरै म प्रथम भएँ।

मेरो यो प्रस्तुतिलाई लिएर ‘नारायण गोपालसँग मिल्दोजुल्दो स्वर भएको गायक’ भन्ने चर्चा फैलिएछ। त्यो सुनेपछि गोपाल योञ्जनले मलाई घर बोलाउनुभयो। उहाँको निम्तो लिएर पूर्ण नेपाली आउनुभएको थियो।

सुरूमा त अचम्म परेँ। जसका गीत गाउँदै आएको थिएँ, उनैले मसँग भेट्न खोजिरहेका थिए। मेरो खुसीको सीमा रहेन। कुदेर गएँ।

‘तिमीले त मेरो मितज्यूको गीत खुबै राम्रोसँग गायौ रे!’ गोपाल दाइले भन्नुभयो, ‘कहाँबाट सिक्यौ?’

नारायण गोपाल र गोपाल योञ्जनले दार्जिलिङमा मित लगाएकोबारे धेरै चर्चा भइसकेकै छ। यो जोडीको संगमबाटै आधुनिक नेपाली संगीतमा थुप्रै अमर कृति जन्मिएका छन्।

‘दाइ मैले रेडियोमा सुनेको आधारमा आफैं गाउन थालेको हुँ,’ जवाफ फर्काएँ।

‘ल उसो भए मलाई अहिले यहाँ त्यो गीत गाएर सुनाऊ,’ गोपाल दाइले आदेश दिनुभयो।

म थर्कमान। गोपाल दाइको अगाडि कसरी गाउने?

जसोतसो हिम्मत गरेर गाएँ।

‘ठीक छ। राम्रो छ। अझ राम्रो गर्न मन लागे मकहाँ अभ्यास गर्न आए हुन्छ,’ गोपाल दाइले भन्नुभयो।

त्यो दिनबाटै गोपाल योञ्जनसँग मेरो नजदिकी सुरू भयो। उहाँसँग संगीत सिक्ने मात्र होइन, संगत पनि गर्दै गएँ। जति संगत गरेँ, त्यति भिज्दै गएँ।

मेरो स्वर नारायण गोपालसँग मिल्छ भनेर धेरैले सुनाउँथे। गोपाल दाइकै ‘भूल हो तेरो भागी हिँड्नु जीवनदेखि डराएर’ गीत रेडियोमा मेरो स्वरमा रेकर्ड भएको थियो। तर, प्रायः मानिस त्यसलाई नारायण गोपालकै स्वर ठान्थे।

स्टेजमा गाउन उक्लँदा पनि सबैले मलाई ‘नारायण गोपालको छोरा’ भनेर चिच्याउँथे।

सन् १९७५ तिर अर्को राष्ट्रिय गीत प्रतियोगिता हुँदा मैले नारायण गोपालकै ‘मेरो गीत म उभेको धुलोले सुनोस्’ गाएँ। त्यसमा पनि प्रथम भएर पाँच हजार रुपैयाँ पुरस्कार पाएँ। यो त्यति बेला ठूलो रकम थियो।

मैले यो खुसीको कुरा गोपाल दाइलाइ सुनाएँ। मख्ख पर्नुहोला भन्ठानेको त, उल्टो गाली गर्नुभयो।

‘तिम्रो आफ्नो गीत छैन?’ हप्काउँदै भन्नुभयो, ‘अरूको गीत किन गाएको?’

गोपाल दाइ मेरो आफ्नो पहिचान बनोस् भन्ने चाहनुहुन्थ्यो। उहाँले मलाई नारायण गोपालको जस्तो झलक आउने गरी नगाइकन आफ्नै शैली विकास गर्न सल्लाह दिनुभयो। रियाजका केही तरिका पनि सिकाउनुभयो।

यसरी नारायण गोपालसँग स्वर मिल्नुले मलाई धेरैखाले अनुभव बोकाएको छ।

एकपटक अम्बर गुरुङको संगीतमा मैले ‘मालती मंगले’ मा गाएको थिएँ। तर, त्यहाँ मेरो नाम गोप्य राखियो। खासमा नारायण गोपालले गाउँदा-गाउँदै अधुरै छाडिदिएको गीत पूरा गर्न मलाई अम्बर दाइले बोलाउनुभएको थियो।

गीत रेकर्ड गराउँदा-गराउँदै नारायण दाइको अम्बर दाइसँग झगडा परेछ। दुवै उस्तै ‘मुडी’ थिए। बोलचालै बन्द भएछ। यस्तो अवस्थामा ‘मालती मंगले’ नै थन्किने अवस्थामा पुगेको रहेछ।

त्यो गीति नाटकमा नायकका सबै गीत नारायण गोपालकै थियो। उहाँले अधुरै छाडेका चारवटा गीत थिए, जसमा २९ लाइन फेरि रेकर्ड गर्नुपर्ने भएछ। त्यसलाई कोही अरू मान्छे लगाएर भए पनि पूरा गर्न सकिएला कि भनेर त्यसका सर्जक एवं राष्ट्रकवि माधव घिमिरेले सोध्नुभएछ।

अम्बर दाइले मेरो नाम लिएपछि घिमिरेले मलाई एकेडेमीमा बोलाउनुभयो।

‘किरणजी, मलाई यति सहयोग गरिदिनुपर्‍यो’ भन्नुभयो।

सुरूमा त त्यो गीत मलाई नै गाउन दिइएको होला भन्ने लागेको थियो। गाइसकेपछि अम्बर दाइले ‘त्यो नारायण गोपालले छाडेको अधुरो गीत हो’ भन्दै पूरा गर्न मात्र मेरो स्वर प्रयोग गरिएको जानकारी दिनुभयो।

‘तिमीले पैसा पाउँछौ,’ अम्बर दाइले भन्नुभयो, ‘तर, तिम्रो नाम कतै आउँदैन।’

यसरी ‘मालती मंगले’ मा मेरो योगदानै गोप्य रहेको थियो। धेरैपछि माधव घिमिरेले मलाई चित्त बुझाउने काम गरिदिनुभयो।

मैले एउटा गीति संग्रह किताब निकालेको थिएँ। त्यसको भूमिका लेख्दा घिमिरेले प्रारम्भमै ‘मालती मंगले’ को सन्दर्भ उठाइदिनुभयो। मैले दिएको स्वरबारे उल्लेख गर्दै ‘किरण प्रधानजीले मालती मंगलेका ती चारवटा अधुरा गीत पूरा नगरिदिनुभएको भए त्यो गीति नाटक स्थगित हुने अवस्थामा पुगिसकेको थियो। त्यसैले म उहाँको ऋणी छु’ भनेर लेख्नुभएको थियो।

मेरो स्वरले ‘मालती मंगले’ त पूर्ण भयो, तर त्यसको प्रतिफलमा मैले नारायण गोपाल दाइसँग नचिताएको दुश्मनी मोल्नुपर्‍यो। आफ्नो गीत गाइदिएँ भनेर उहाँ मसँग घमासानै रिसाउनुभयो।

उहाँहरूबीच के-कस्तो कुरा थियो, मलाई थाहा थिएन। म सोझो तरिकाले गएर गाइदिएको थिएँ। नारायण दाइले भने ‘हेरौंला, कसरी पूरा हुँदो रहेछ’ भन्ने हिसाबले इख लिएर बस्नुभएको रहेछ। म बीचमा परेँ।

नारायण दाइले मलाई एक शब्द पनि नराम्रो भन्नुभएन। तर, त्यस दिनपछि जतिपटक मैले उहाँलाइ भेटेँ, त्यतिपटकै उहाँको व्यवहार र ‘बडी ल्याङग्वेज’ ले उहाँका निम्ति म असाध्यै नरुचाइएको मान्छे हुँ भन्ने भान पारिरहनुभयो।

म नारायण दाइकै गीत गाएर गायन यात्रा थालेको मान्छेलाई त्यो कुराले असाध्यै चित्त दुखायो। म उहाँलाई असाध्यै श्रद्धा गर्थेँ।

यसैबीच एकदिन रेडियो नेपालबाट अरू केही मान्छेका साथ नारायण दाइ निस्किँदै हुनुहुन्थ्यो। म पनि साथ लागेँ। हिँड्दा-हिँड्दै अरू कुरा चलिरहेका थिए। सिंहदरबार अगाडि पुगेपछि मैले अचानक नारायण दाइतिर हेर्दै ‘दाइ हजुरको संगीतमा मैले पनि एक-दुइटा गीत गाउन पाऊँ न’ भनेर अनुरोध गरेँ।

‘किन मेरो संगीतमा गाउनु पर्‍यो,’ नारायण दाइले असाध्यै रुखो स्वरमा ‘छ त तिम्रो …’ भनेर गोपाल दाइको नाममा यस्तो कठोर शब्द प्रयोग गर्नुभयो, म स्तब्ध बनेँ।

उहाँहरू दुवै मितज्यू। त्यत्रो दुनियाँले उहाँहरूको संगतबारे थाहा पाउँदै आएका बेला त्यो चिताउँदै नचिताएको शब्द थियो।

पछि बुझ्दै जाँदा एक त दुवै मितज्यूमा ठाकठुक परेको र अर्को मैले ‘मालती मंगले’ को गीत गाइदिएको कारण रहेछ।

 

नारायण दाइले त्यो तुष मलाई एउटा संगीत प्रतियोगितामा पनि पोख्नुभएको थियो। त्यो रत्न रेकर्डिङ संस्थानको गायन प्रतियोगिता थियो। प्रथम पुरस्कारमा दसवटा गीतको एलपी रेकर्ड राखिएको थियो। त्यो जमानामा दसवटा गीत एलपी रेकर्ड हुनु भनेको कुनै पनि गायकका निम्ति ठूलै कुरा हुन्थ्यो।

राष्ट्रिय सभागृहमा आयोजित त्यो प्रतियोगितामा मैले गाएँ। सारा श्रोता मेरो पक्षमा थिए। रत्न रेकर्डिङका महाप्रबन्धक दीपक जंगम विजेता घोषणा गर्न मञ्चमा पुग्दा भएभरका दर्शकले एकोहोरो मेरो नाम चिच्याएका थिए।

तर, दीपक दाइले ‘प्राविधिक कारणवश आज हामी विजेता घोषणा गर्न सक्दैनौं। यो परिणाम तीन दिनपछि रेडियोबाट सुनाइनेछ’ भनिदिनुभयो।

रेडियोले परिणाम सुनाउँदा दुई जनालाई प्रथम, दुई जनालाई दोस्रो र चार जनालाई तेस्रो घोषणा गरियो। त्यो संसारमै नभएको घटना थियो।

त्यो तेस्रोको पनि चौथो श्रेणीमा मेरो नाम सुनेपछि म चकित परेँ।

मैले दीपक दाइलाई भेटेर कारण सोधेँ।

‘भाइ, विजेता त हामीले पनि तपाईं नै हुनुपर्छ भनेर सोचेका थियौं,’ दीपक दाइले भन्नुभयो, ‘तर, अब जे भयो त्यसमा मेरो कुनै हात छैन।’

पछि त्यसको निर्णायकमा नारायण गोपाल, शिवशंकर र मीरा राणा रहेको जानकारी पाइयो।

विक्षिप्त अवस्थामै म शिवशंकरलाई भेट्न रेडियो नेपाल पुगेँ।

संसारमै नभएको यस्तो परिणाम कसरी आयो भनेर सोध्दा सुरूमा त उहाँ मज्जाले हाँस्नुभयो। ठ्याक्कै त्यही बेला मीरा दिदी पनि आइपुग्नुभयो। त्यसपछि ‘किरणजी, के गर्ने…’ मात्रै भन्नुभयो।

‘हेर किरण यो न मैले गरेको हो, न शिव दाइले,’ मीरा दिदीले भन्नुभयो, ‘यो गर्ने नारायण गोपाल नै हो, उहाँलाई नै गएर सोध।’

म छक्क परेँ।

यस्तै अवस्थामा केही दिन बिते।

एक दिन म दिव्य खालिङकहाँ बसेर संगीतको काम गरिरहेको थिएँ। अचानक नारायण दाइ आइपुग्नुभयो। सोफामा बस्नुभयो। त्यहाँ मलाई देख्नेबित्तिकै नारायण दाइको अनुहार अचानक अँध्यारो भयो। आँखीभौं खुम्च्याउनुभयो।

‘ए सोम, ट्वाँट लगाउने होइन?’ भनेर दिव्य दाइले नारायण दाइलाई सोध्नुभयो। म त कहिल्यै मदिरा पिउँदिन थिएँ।

‘लगाइदिऊँ न त,’ नारायण दाइले जवाफ फर्काउनुभयो।

दुवै दाइ बसेर पिउन थाल्नुभयो। मेरो मनमा छटपटी चलिरहेकै थियो। मैले नारायण दाइतिर हेरेर विनम्र भावमा भनेँ, ‘दाइ एउटा कुरा सोधौं।’

‘के?’ असाध्यै तुच्छ हेराइका साथ रुखो स्वरले नारायण दाइले सोध्नुभयो।

‘त्यो रत्न रेकर्डिङको प्रतियोगितामा …’ मैले कुरा निकालेको मात्र थिएँ।

‘यसो भन्ने तिमी को हौ?’ नारायण दाइले सोध्नुभयो।

‘दाइ हजुर जज भएको प्रतियोगितामा म पनि प्रतियोगी थिएँ,’ नम्र स्वरमै भनेँ।

‘तिमीले सेकेन्ड बिटमा किन अन्तरा उठाएको?’ दाइले मलाई आश्चर्यमा पार्दै सोध्नुभयो।

‘तर, बिट त बिग्रेको थिएन नि!’ मैले जवाफ दिएँ, ‘दादराको तालमा एक आवृद्धि खाली गयो भन्दैमा त्यत्रो ठूलो सजाय दिन मिल्छ?’

यति भनेको मात्र के थिएँ, ओठनिरै रहेको हातको गिलास आवाजका साथ टेबलमा राखेर नारायण दाइ जुरूक्क उठ्नुभयो र दिव्य दाइतर्फ हेर्दै ‘सोम म हिँडे’ भन्दै सरासर बाहिर निस्कनुभयो।

दिव्य दाइले फकाउने मौका पनि पाउनुभएन। हामी दुवै हेरेका हेर्‍यै भयौं।

दिव्य दाइ मलाई काजी भनेर बोलाउनुहुन्थ्यो। ‘हेर्नुस् काजी, तपाईंले यहाँको कुरा बुझ्नुभएको छैन,’ भन्नुभयो, ‘गोपाल योञ्जन र मेरो गीत गाएर हिँड्ने मान्छेलाई नारायण गोपालले पुरस्कार दिन्छ भनेर चिताउनु पनि बेकार हो।’

नेपाली संगीतमा एकअर्कासँग मिलेरै ठूलो योगदान दिएका यी हस्ती बाहिरबाट सबैले हेर्दा आत्मीय देखिए पनि भित्री यथार्थ अलि बेग्लै थियो। उनीहरू जति प्रतिभाशाली थिए, उत्तिकै असाध्यै डरलाग्दो गरी आपसी तुष र ‘इगो’ बोकेर बसेको यथार्थ मैले भोगेको थिएँ।

मलाई आज पनि मान्छेहरू नारायण गोपालसँग स्वर मिल्ने गायक भन्छन्। उहाँसँग त्यसरी मिल्दोजुल्दो स्वरका पछि अरू पनि धेरै गायक देखापरे। तर, नारायण दाइको सक्रियकालमै गायन क्षेत्रमा प्रवेश गरेको मैले उहाँबाट आत्मीयता पाउन सकिनँ।

बरू स्वर मिलेकै कारण दुश्मन बनेँ।

साभार :  सेताे पाटीबाट