तर‌ंग- पहरो, सेता काग र केटो

December 10, 20195:08 am

बाँस्कोटा धनञ्‍जय/दमक- अष्ट्रेलियामा बस्ने नेपाली युवाहरुका सुन्दर कथाहरु धेरै लेखियो ।

तर उज्यालोको अनिवार्य पाटो अध्यारो पनि हो नि । सकारात्मकताको नाममा उज्यालोको अर्थ अध्यारोको निरपेक्ष बसेर खोज्न थालियो भने त्यो निरर्थक हुन्छ ।

त्यही भएर धार्मिक प्रवचन गर्नेहरुका बोली फिका बनाइन्छन् सजिलै । किनभने तिनले उज्यालोलाई सजिलो ब्याख्या गरिदिन्छन् र अध्यारोको सापेक्षता खारेज गरिदिज्छन्।
मैले पनि कतिपय अवस्थामा उज्यालोलाई निरपेक्ष देखेर निरपेक्ष लेख्‍ने भूलहरु झण्डै-झण्डै गरें।

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा पर्ने ‘ह्याङ्गिङ्ग रक’ अर्थाथ झुण्ड्याउने पहरो हेर्न २६ जुन २०१९ मा छोरी —ज्वाईंका साथमा म र जानुका त्यसतर्फ लाग्यौं।

तिब्र गतिमा फ्रि वे हुदै एक घण्टामा छोरीले  मेलवर्नबाट ‘माउण्ट म्यासेडङ्ग’ पुर्‍याइन्।

घना जङ्गल भएको उक्त स्थानमा माउण्ट पाचतारे होटल, क्याफे र साना कफी हाउसको उपस्थिति बाक्लाे थियो।

अग्लो ठाउ, जंगल र त्यहाँबाट पर देखिने बिशाल आखाले नभ्याउने समथर फाँटहरुको दृष्य हेर्ने बाहेक अरुकेही पनि थिएन। रुख हेर्नु मेरो गौरवको विषय पनि थिएन।

सुन्दर फोटाहरुको सेसन गरेर खुशी साट्यौं।

अनि एउटा क्याफेमा पसेर कफी लियौं र ह्याङगिङ्ग रक तर्फ लाग्यौं। अग्लो डाँडाको फेदीमा माथि उठेको अग्लो भाग जुन बिशाल चट्टान अर्थात् ढुङ्गाहरुले बनेको थियो ।

त्यो अनौठो पनि थियो। तल बस्ती, रुखहरु अनि माथि पत्थरको पहरो । त्यो पनि समथर भूभागको बीचमा थियो। कसैले ती चट्टानहरु बेकेर ल्याएर ठड्याएको जस्तो।

प्रकृतिको यति अचम्मको सिर्जना बिरलै देख्न पाइन्छ ।

तर, त्यस क्षेत्रलाई पर्यटकीय बनाइएको रहेछ। हर्स रेस अर्थात घोडा दौडका ठूला इभेन्ट त्यहीं गरिंदा रहेछन्। पिकनिक पनि त्यहीं।

तीस हजार बर्ष पुरानो इतिहास बोकेको ज्वालामुखीले बनाएको उक्त भीर हेर्न आउनेहरु धेरै।

चिसो धेरै भएकोले मैले माथि चढ्न मिलेन। छोरी ज्वाईं र जानुका गए।

म भने तलै फेदीमा घाम तापेर बस्ने भएं।

आजको मूल प्रशंगचाहीं यही हाे।

मलाई लाग्थ्यो, संस्कृति बेच्‍नेहरु नेपालमा मात्र छन्।

तर नेपाली जहाँ छन्, त्यहाँ आफ्नाे पन र आफ्नो संस्कृतिको थोरैले मात्र यो बिरासत जोगाउने प्रयास गरेको पाइयो।

एक दिन एक जना बहिनीले आफ्नो छोराको बिहे नेपाली केटीसितै गराउने ईच्छा प्रकट गरिन्।

त्यो नेपालीपनको प्रेम थियो।

चिनीयाहरु, भारतीयहरु र अरेवियनहरुले आफ्नो बच्चाहरुलाई आफ्नो भाषा, संस्कृति र परम्परालाई पुस्ताकरण हुँदापनि छोड्न दिएका रहेनछन्। तीन पुस्ता बितिसक्दा पनि तिनले आफ्नो भाषा, धर्म र संस्कृति अँगालिरहेको देखियो।

ती पराइ मुलुकमा बसे पनि पुर्खेयाैली भूमिको पहिचान मेटाउन दिंदा रहेनछन्।

उनीहरुलाई आफ्नै भाषा, आफ्नो संस्कृति र परम्पराले सिँगारिन मन पर्दो रहेछ।

आफ्नो देशमा बस्ने, त्यहींका जनताको कर तिरेको पैसाले तलव र भत्ताखाने, तिनै जनतामाथि राजनीति गर्ने अनि तिनै जनताले मानेका धर्म, संस्कृति र परम्परालाई थुक्ने ‘महान’ राजनेताहरुले शासन गरेको महान देशको नागरिक म खलास भएं त्यो सब देखे पछि।

केही नेपाली दाजुभाई दिदीबहिनीहरुले आफ्नो बच्चाहरुलाई आफ्नोपनको प्रेम गर्न प्रेरित गर्नेप्रयास गरे पनि उनीहरु सफल भइरहेका छैनन्। त्यही देखियो त्यहाँ।

यस्तै अनौठो घटना घट्यो जव म त्यो ह्याङगिङ्ग रकको फेदिमा करीब दुई घण्टा एक्लै बसिरहेको थिँए।

एक जना अलिक सेतो छाला भएको युवा काठको मूढामा एउटा कुकुर लिएर बसिरहेको थियो। मैले सम्झें यो अष्ट्रेलियन होला । उसले केही ‘विस’ गरेछ भने फर्काउँला।

जाडो भयो भने गाडी खोलेर भित्र बस्नु, तातो हुन्छ भनेर छोरीले गाडिको चावी दिएकी थिइन्। गाडी लक भएको रहेनछ। वरिपरी अरु धेरै गाडी थिए । म लक चेकगर्दै आफ्नो बोलेंछु — ‘गाडी लक छैन कि क्याहो ? के गर्छिन छोरी’

त्यो मेरो गुनगुनाहक त्यो केटाले प्रष्टै सुनेको थियो। तर ऊ बोलेन। लाग्यो, यो गोरे हो । ऊ निरन्तर त्यो कुकुरसंग सम्वाद गरिहह्यो। खेलिरह्यो।

यसले वरपर पनि खासै नजर लगाएन।

ऊ पर्तिर मुढामा थियो, म वर्तिर फेन्स अर्थात बारको छेउमा घाम तापेर पटक पटक उसैलाई नजर लगाइरहेको थिएँ कि उसले के के हर्कत गर्न सक्छ।

म घाम ताप्दै सेता कागसँग रमाउदै थिएं । ती काग बदाम र भुजिया खान मेरा हातैनिर आउँथे । तिनलाई मदेखि डर थिएन।

कति अचम्म,  तिनले कसरी बुझेका कि योबाट हामीलाई खतरा छैन!

काग सेता, पहिलो पटक देखेको। सेता भएकैले ती शान्तिमा बिश्वास गरिहेका थिए।

हामीले काला कागको मात्र पूजा गर्यौं । त्यसैले हामी सशरीर काला भयौं, शान्तिलाई गाली गर्यौं, सराप्यौं।

मैले सेतो कागको बिम्ब देखें त्यहाँ।

मैले फेरी उही केटोलाई हेरें। ऊ कुकुरमै रमाइरहेको थियो । त्यो चौरीमा ऊ र म मात्रै थियौंं । अरु केही मान्छे थिएनन् ?

त्यहाँ गोरेहरुको देखिने संस्कृति भनेको कुकुर बिराला पाल्ने, कुकुर डोर्‍याएर हिंडने, बाटामा जसलाई भेटेपनि मुस्कुराएर सानो स्वरले ‘हाई, हाउ आर यू?’ भन्दै हिंडने। उनीहरुको समुदायका मान्छे भेटे भने अलिक ठूलो स्वरले बोल्ने, गफ गर्ने र महत्व दिने। बाहिर ब्यक्त नगरे पनि उनीहरु छालाको रंग हेरेर भिन्न सोच र ब्यावहार प्रकट गर्दा रहेछन्।

उनीहरु भन्दा बाहिरको मान्छेलाई महत्व धेरै कम दिन्छन् र तिनसँग लामो गफ गर्दैनन्।

मैले त्यो युवालाई त्यसरी नै बुझ्न थालें। त्यसरी नै सहज रुपमा लिएँ।

तर केही समय पछि मेरो सबै भावभङ्गिनीहरु सल्याकसुलुक भए।

किन कि केही समय पछि तीन वटी केटी पर क्याफेबाट एकै पटक हातमा कफी र अरु खनेकुरा पनि लिएर चिच्याउँदै, होहल्ला गर्दै त्यो केटो भएतिर आए।

केटीहरू नेपाली भाषा बोल्दै दि।

‘हरि, कम अन। कति मीठो छ, तातै लेऊ। सेलाउँछ है।’ ती केटीले यति बेलेको सुनेँ त्यो कुकुर खेलाउने केटालाई।

‘हैन, यो त नेपाली केटो हो कि क्या हो ?’ मनमनै प्रश्न गरें। आश्चार्य लाग्यो।

ऊ नेपाली थिएन होला भन्ने मेरो सोच गलत सावित भयो।

ऊ मेरो नेपाली भाषा सुनेर पनि किन बोलेन ? किन बोल्न चाहेन ? किन कुकुरसंग मात्रै बोल्यो ? म साँच्‍चै बोल्न लायक नदेखिने नालायक थिएँ ? म नेपालबाट आएको जस्तो देखिने भएर नेपाली होइन्छ कि भनेर नबोलेको हो ? मसंग कुकुर थिएन, त्यही भएर हो ?

नेपाली भाषा, धर्म र संस्कृतिको घृणा गरेर हो ? नेपाली भाषामा बोल्नुपर्छ भनेर हो ? उसको अष्ट्रेलियाकरणमा अप्ठेरो पर्छ भनेर हो ? पाखे होइन्छ भनेर ? मेरो के गल्ती छ ? लुगा पो नराम्रा भएर हो कि भनेर आफ्नो शरीरलाई हेरें । ठीकै थिए। मेलवर्नमै किनेका सर्ट, पाइन्ट, ज्याकेट लगाएको थिएँ।

मनमा अनेक प्रश्न उठे।

ती केटी त्यो केटो भए ठाउँमै आए। ऊ उठ्यो। अँगालो हाले। तिनको हाँसो निरन्तर थियो। अनि खानेकुरा नखोली गएर अगाडि पार्किङ्गमा राखेको कारभित्र पसे।

किन कि घाम डुब्दै थिए र घाम डुबेपछि कि गाडिभित्र छिर्नु पर्ने कि आगाको छेउमा बस्नु पर्ने। त्यति जाडो समय र स्थानको अनुभूति जीवनमै पहिलो चोटी भएको थियो।

ती केटाकेटी  गाडिमा हुँईकिए।

म हेरेको हेरै भएँ । र छोरी —ज्वाई र जानुकालाई गाडिभित्र पसेर पर्खिन थालें।

नेपाली जहाँ गए पनि नेपाली नै हुँदो रहेछ भन्ने लाग्यो।

त्यो केटो यो देशमा भएको भए भविष्यमा यो देशको सर्बाेच्च पदमा अवश्य पनि पुग्ने थियो भन्ने लाग्यो।

किनभने यो समय आयातित विचार, दर्शन, धर्म र संस्कृतिले राज गर्ने समय हो।

यो समयको सबैभन्दा सुन्दर पात्र मैले त्यो केटालाई देखें ।

आज पनि मलाई त्यो केटाको दृष्य आँखै अगाडि आइरहन्छ। र संझन्छु, ऊ यो समयको उत्कृष्ट पात्र रहेछ।

लेखककाे फेसबुक वालबाट साभार